नेपालले भारतलाई थप १९९ दशमलव ७ मेगावाट बिजुली निर्यात गर्न स्वीकृति पाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यससँगै नेपालबाट भारतमा निर्यात हुने कुल विद्युत् ११४० दशमलव ७ मेगावाट पुगेको छ । प्राधिकरणका अनुसार, भारतको केन्द्रीय विद्युत् प्राधिकरणले हरियाणा राज्यलाई मध्यकालीन सम्झौताअन्तर्गत यो परिमाणको बिजुली आयात गर्न अनुमति दिएको हो ।
यो सम्झौताअन्तर्गत नेपालका ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली हरियाणालाई बिक्री हुने भएको छ । प्राधिकरणले अब हरियाणालाई ४३५ दशमलव २ मेगावाट बिजुली आपूर्ति गर्नेछ ।
यसअघिको २३५ दशमलव ५ मेगावाट मात्र विद्युत् जाने गरेकोमा त्यसमा करिब २ सय मेगावाट थपिएको हो ।
नेपालले वर्षायाममा अतिरिक्त भएको बिजुली हरेक वर्ष जुन १५ देखि अक्टोबरसम्म भारतको बिहार र हरियाणालाई बिक्री गर्दै आएको छ ।
यो वर्ष थपिएको १९९ दशमलव ७ मेगावाट बिजुलीको बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७२ पैसा (५ दशमलव ४५ भारतीय रुपैयाँ) तोकिएको छ ।
प्राधिकरणका प्रवक्ता राजन ढकालले यो बिक्रीमा भारततर्फको प्रसारण लाइन शुल्क, चुहावट र अन्य करहरू समावेश नभएको बताए ।
यसअघिदेखि नै नेपालबाट १२५ मेगावाट बिजुली कटैया, रक्सौल र रामनगरका १३२ केभी प्रसारण लाइनमार्फत भारतको बिहार निर्यात भइरहेको छ ।
नेपालले भारतको इनर्जी एक्सचेन्ज (आईएक्स)को रियल टाइम र डे–अहेड बजारमा प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्दै आएको छ ।
हाल ३४ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ११४० दशमलव ७ मेगावाट बिजुली भारतीय बजारमा बिक्री हुने भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो भने बंगलादेशलाई मात्र २६ करोड ६६ लाख बराबरको बिजुली बिक्री गरेको छ ।
नेपालले सुक्खा याममा भने भारतबाट १२ अर्ब ९२ करोडको बिजुली आयात गरेको प्राधिकरणको तथ्यांक छ ।
नेपाल–भारत–बंगलादेशबीचको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बंगलादेशलाई पनि ४० मेगावाट बिजुली निर्यात शुरू गरिसकेको छ ।
यो बिजुली ढल्केबर–मुजफ्फरपुर र बेहरामपुर–भेडामारा ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेश पुग्छ । प्राधिकरणले त्रिशूली र चिलिमे आयोजनाबाट उत्पादित बिजुली बंगलादेशलाई प्रतियुनिट ६ दशमलव ४० अमेरिकी सेन्टमा बिक्री गर्ने सम्झौता गरेको हो ।
नेपालले सन् २०२१ मा भारतको ‘डे–अहेड’ बजारमा प्रवेश पाएयता निर्यातकर्ताका रूपमा स्थापित भएको छ ।









प्रतिक्रिया दिनुहोस्