२०८२ माघ १६ , शुक्रबार

अछाममा छाउपडी प्रथाले आमा–बालिकाको लियो ज्यान



१३ भदौ,अछाममा पुनः छाउपडी प्रथाका कारण दुःखद घटना भएको छ । पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीमा बिहीबार राति महिनावारीका बेला त्रिपालमुनि सुतेका आमा र बालिकाको ढुङ्गा लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ३५ वर्षीया निमा खनाल र ७ वर्षीया कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको छ । कविताकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते भइ उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको छ ।

वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार, महिनावारी भएका बेला घरभित्र बस्न नहुने अन्धविश्वासका कारण निमा र रत्ना घरबाहिर त्रिपालमुनि सुतेका थिए । आमासँगै सुत्न पुगेकी बालिका कविताले समेत निर्दोष जीवन गुमाउनु परेको उनले बताए ।

पहाडी भेगमा वर्षायामका कारण ढुङ्गा खस्ने वा पहिरो जाने जोखिम भइरहे पनि छाउपडीजस्तो कुप्रथाले महिलाहरूलाई असुरक्षित ठाउँमा बस्न बाध्य पार्दै आएको छ । सरकारले छाउपडी प्रथालाई गैरकानुनी र दण्डनीय घोषणा गरे पनि यसको पूर्ण उन्मूलन हुन सकेको छैन ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : २०८२ भदौ १३ गते शुक्रबार