२०८२ माघ १६ , शुक्रबार

विपिन जोशीको रिहाइको माग राखेर माइतीघरमा प्रदर्शन



३ भदौ, काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको माग राखेर युवाहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

विपिनको रिहाइमा नेपाल सरकारले कूटनीतिक दबाब सिर्जना गर्नुपर्ने, नागरिकलाई देशमै बस्ने वातावरण सुनिश्चित गर्नुपर्ने, विदेशिएको हरेक नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले कहाँ छन् विपिन जोशी ? अविलम्ब घर फर्काइयोस्, हामी युवाहरू कहिलेसम्म विदेशिनु पर्ने हो सरकार ?, युवा बेचेर देश कसरी बन्छ सरकार ? लगायतका प्ले कार्ड बोकेका थिए ।

स्वतस्फूर्त रूपमा भेला भएका युवाहरूको समूहले विपिनको रिहाइका लागि भन्दै हस्ताक्षर समेत संकलन गरेका छन् ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार मात्रै सामाजिक सञ्जालमार्फत हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले अधिकतम रूपमा कूटनीतिक पहल जारी राखेको बताएकी थिइन् ।

प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटेका छन् ।

विपिनको खोजीको लागि विपिनकी आमा र बहिनी इजरायल पुगेकी छन् । उनीहरूले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरी विपिनको रिहाइका लागि अपिल गरेका छन् ।

प्रकाशित मिति : २०८२ भदौ ३ गते मंगलबार